+047-520251

info@kamalamaimun.gov.np

समाचार

सिन्धुली जिल्लाको नौ स्थानीय तह मध्ये ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको कमलामाई नगरपालिका ४८२.३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस नगरपालिकाको भूभाग चुरे क्षेत्रको गर्मी हुने ठाँउ देखि महाभारतको उच्च शृङ्खलासम्म विस्तारित छ । नेपालको प्रसिद्ध कमलानदीको उद्गम स्थलमा रहेको कमलामाई नदीको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो ।

कमलामाई नगरपालिकाको बिभिन्न तथ्यांक संकलनको बिबरण

सिन्धुलीगढी

सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनीतिक, ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ कि.मी.को क्षेत्रफलमा रहेको महाभारत पर्वतको झण्डै मध्यभागमा करीव ५९ कि.मि.को विन्दुमा रहेको छ । यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट वि.पि.राजमार्गको सिन्धुलीमाढी – खुर्कोटको करिब २० कि.मी.को दुरीमा रहेको छ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै महत्त्वपूर्ण घटनाको रुपमा परिचित छ । बनेपादेखी बर्दिवास सम्म बि.पी. राजमार्ग निर्माण तथा त्यसमा यातायात सञ्चालन हुन थालेका कारण केहीअघिसम्म दुर्गम रहेको सिन्धुलीगढी सुगम भएको छ । सिन्धुलीगढी नेपाल-अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरिएका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । वि.स. १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडा हाकिम र सेना बस्न १४ ढोका ५६ झयाल टिनको छाना र सिमेन्ट अनि इट्टाको प्रयोग गरी २ तले दरबार बनाइएको थियो । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । यो दरबार हेरेपछि 'सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति पो राम्रो दरबार' गीतको सम्झना आउँछ । तर संरक्षणको अभावका कारण ऐतिहासिक धरोहरकोरूपमा रहेको सिन्धुलीगढी ओझेलमा पर्दै गएको छ ।

भद्रकाली मन्दिर

कमलामाई नगरपालिका वडा नं. २ मा रहेको वि.पी.राजमार्ग सँगै रहेको छ । यो मन्दिरलाई गोर्खालीकी भगवती मनकामनाको बहिनी भनेर पनि विभिन्न लेखहरुमा पाइन्छ । यस मन्दिरको स्थापना शाह वंशीय राजा पृथ्वी नारायण शाह स्वयंले गरेको भन्ने लेखहरुमा पाइन्छ । पृथ्वीनारायण शाह गोर्खालीकी भगवती मनकामनाको भक्त भएकाले उनले अंग्रेजसँगको लडाईमा विजय प्राप्त होस् भनेर ढुंग्रेबासमा मनकामनाकी दिदी प्रतिक मानेर भद्रकालीको मन्दिर आँफैले स्थापना गरेका थिए । यहाँ आएर मनले इच्छागरेको कुरा पूरा हुने जनश्रुती रहेको छ ।सजिलै पुग्न सकिने गरी यातायातको सुविधा तथा यस मन्दिर रहेको स्थानबाट जिल्ला सदरमुकाम लगायत अन्य स्थानहरुको राम्रो दृश्यावलोकन गर्न सकिने भएकोले भद्रकाली मन्दिरमा दर्शनार्थीहरुको सङ्ख्या बढेको छ ।

कमलामाई मन्दिर

माइस्थान समेत भनिने कमलामाई मन्दिर कमलामाई नगरपालिकामा रहेको छ । यस मन्दिर जिल्ला सदरमुकामबाट बहने गौमति खोला र कमला खोलाको संगम स्थलमा अवस्थित छ । यस मन्दिर बि.पी. राजमार्गमा नै रहेको छ । यातायातको साधनको सहज उपलब्धता तथा ऐतिहासिक तथा धार्मिक प्रतिष्ठाको कारण यस मन्दिरमा आउने भक्तजनहरुको ठूलो घुँइचो हुन्छ । कमलामाई मन्दिरको उत्पत्तिको सम्बन्धमा वास्तविक समय तथा प्रमाणिक कथनहरु भने अधुरै छन् । कमलामाई मन्दिरको धार्मिक प्रतिष्ठा ज्यादै उच्च छ । यस मन्दिरमा मकवानी राज्यका राजाहरु देखि इतिहासका विभिन्न समयमा देखिएका शासन प्रशासकहरुले चढाएको वस्तुहरुमा लेखिएको अक्षरहरुबाट थाहा हुन्छ । वि.सं. १८८६ सालको माघ महिनामा चाँदीको मुकुट चढाउन तत्कालिन काजी भीमसेन थापा स्वयं कनिष्ट पत्नी भक्त कुमारी सहित आएको कुरा पनि उनले चढाएको चाँदीको मुकुटमा कुँदिएको छ । कमलामाई मन्दिरमा प्राय: सबै समयमा दर्शनार्थीहरुको भिड लाग्छ तर पनि माघ महिना भरी यहाँ पाठी बलि दिने कार्य ब्यापक हुन्छ । माघे संक्रान्तिमा यहाँ ठूलो मेला लाग्दछ । यो मेला भर्न नेपाल तथा भारतका समेत तिर्थालुहरु यहाँ आउँछन् ।

गणेशस्थान

कमलामाई नगरपालिकाको वडा नं. २ मा गणेशस्थान पर्दछ । यस मन्दिर पनि भक्तजनहरुको आस्था तान्न सफल हुँदै गएको मन्दिर हो । यस मन्दिरमा मंगलवारको दिन भक्तजनहरुको विशेष उपस्थिति हुने गर्दछ । मन्दिरमा आफुले चिताएका कुरा सम्झेपछि पुराहुने जनविश्वास भएकाले प्रचारप्रसार भए पछि पनि यसको महत्त्व दिनानु दिन बढ्दै गएको हो.

सिद्धबाबा मन्दिर

सिन्धुलीको प्रसिद्ध धार्मिक स्थल शिद्धबाबा महादेवको मन्दिरमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । पर्यटक बढेसँगै स्थानीय व्यवसाय फस्टाउन थालेको छ । सदरमुकाम सिन्धुलीमाढीबाट करिब २ किलोमिटर उकालो चढेर पुग्न सकिने मन्दिरमा शिवरात्री, माघेसङ्क्रान्ति, तीज र जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । महाभारत पर्वत शृङ्खलाको अग्लो स्थानमा अवस्थित शिद्धबाबा महादेवस्थानमा सिन्धुली, महोत्तरी, धनुषा, काठमाण्डौ लगायतका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनहरुको सङ्ख्या बढेको छ । शिद्धबाबा मन्दिरमा चढाइएको करिब तीनधार्नी तौलको एउटा घण्टामा रन्जना लिपिमा १८१२ लेखिएको हुँदा त्यही आधारमा मन्दिर त्यतिबेलामा नै स्थापना भएको अनुमान गरिएको छ ।

रक्तमाला मन्दिर

फुलपातीको दिन मेला लाग्ने यस रक्तमाला मन्दिर कमलामाई नगरपालिका वडा नं.४, को बँगैचाटोलमा अवस्थित छ । नेपालकै तेस्रो धेरै फुलपाती चढाइने मन्दिरको रुपमा परिचित यस मन्दिरमा नेपाली सेनाद्धारा फुलपाती भित्राइ धुनधान रुपमा मनाउने गरिन्छ । यस मन्दिरको परिसरमा आधुनिकशैलीमा निर्माण गरिएको पोखरीले अझ मन्दिरको सुन्दरता बढाएको छ

उर्गेन छ्योईलिङ गुम्वा

कमलामाई नगरपालिका ७ नं. वडा बुद्धनगरचोक स्थित श्री उर्गेन छ्योईलिङ गुम्बाको स्थापना सिन्धुलीका पुराना राजनीतिज्ञ तथा समाजसेवी स्व. श्री लाल बहादुर घिसिङको अगुवाईमा वि.सं. २०५३ सालमा भएको हो । यस गुम्बा व्यवस्थापन समितिका संस्थापक अध्यक्ष कमलामाई नगरपालिका७ नं. वडा माझीटार निवासी स्व. श्री लाल बहादुर घिसिङ हुन् भने वर्तमान अध्यक्ष सोही स्थान निवासी श्री धन बहादुर घिसिङ हुन् । यस गुम्बाका प्रमुख लामा श्री छेङ्दोर्जे लामा हुन् । यो गुम्बा कमलामाई नगरपालिका भित्रका पुरानो गुम्वाहरु मध्येको एक हो । यस गुम्वाको भौतिक संरचना निर्माण तथा मर्मतका लागि स्थानीयवासी, बौद्धदर्शन प्रवद्र्धन तथा गुम्वा विकास समिति, कमलमाई नगरपालिका लगायतका सरकारी निकायबाट विभिन्न समयमा आर्थिक सहयोग उपलव्ध हुँदै आएको छ । वौद्ध धर्मावलम्बी समूदायको आस्थाको केन्द्र रहेको यस गुम्वाको अझ विकास एवं विस्तार गर्न सकेमा यस क्षेत्र पर्यटकिय हवको रुपमा परिणत भइ आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्न जाने देखिन्छ ।